काठमाडौं, २ असार । चितवनबाट अपहरणमा परेका १६ वर्षीय एक बालकलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार सोमबार साँझ नारायणगढ बाट ती बालकलाई पाँच–छ जनाको समूहले भारतीय नम्बर प्लेटको गाडीमा राखेर अपहरण गरेको थियो। अपहरणकारीहरूले बालकलाई काठमाडौं ल्याई एक होटलमा बन्धक बनाएर परिवारसँग फिरौती रकम मागेका थिए।
परिवारबाट पैसा मागिएको सूचना प्राप्त भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। अनुसन्धानका क्रममा काठमाडौंको बसपार्क क्षेत्रस्थित एक होटलबाट बालकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
कार्यालय प्रमुख सन्तोष खड्का का अनुसार अपहरणकारीहरूले बालकलाई नियन्त्रणमा राखेर परिवारसँग रकम मागिरहेका थिए। सूचनाका आधारमा गरिएको अपरेसनबाट बालकको उद्धार गरिएको उहाँले बताउनुभयो।
घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्यका सुजित कुमार, गोलु कुमार, विक्की कुमार, मोहम्मद साहिद र अर्का गोलु कुमार पक्राउ परेका छन्। उनीहरूलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि तथा घटनाको थप विवरणबारे अनुसन्धान जारी रहेको जनाएको छ।







प्रतिक्रिया