सांसद खुश्बु ओलीको चरित्र हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं, १ असार । प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

सांसद ओलीले विभिन्न व्यक्तिले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि साइबर ब्युरोले ६१ वर्षीय प्रद्युम्त श्रेष्ठलाई पक्राउ गरेको हो।

ब्युरोका सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुंगल निवासी श्रेष्ठलाई सोमबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरिएको छ।

ओलीले फेसबुकमा आफ्नो तस्बिर राखी अपशब्द प्रयोग गर्दै नकारात्मक टिप्पणीमार्फत चरित्र हत्या गरिएको भन्दै करिब तीन दर्जन व्यक्तिविरुद्ध उजुरी दर्ता गराउनुभएको छ।

यसअघि उहाँले उक्त विषय संसदमा समेत उठाउँदै दोषीमाथि कारबाहीको माग गर्नुभएको थियो। त्यसपछि गृहमन्त्रीले उजुरी दिन आग्रह गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने आश्वासन दिनुभएको थियो।

प्रकाशित मिति: १ असार २०८३, सोमबार  २० : ४०  बजे