रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी, बहालवाला सभापति गौतम पराजित

काठमाडौं, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी विजयी हुनुभएको छ। उहाँले बहालवाला प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य राजन गौतमलाई पराजित गर्दै नेतृत्व हात पार्नुभएको हो।

शुक्रबार रातिदेखि सुरु भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न भएको थियो। सार्वजनिक परिणामअनुसार त्रिपाठीले २ सय ३४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी गौतमले १ सय ८२ मत पाउनुभयो। सभापतिका अन्य उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत प्राप्त गर्नुभएको थियो।

पार्टी विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था रहेकोमा त्रिपाठीले पहिलो चरणमै आवश्यक मत प्राप्त गर्दै विजयी हुनुभएको हो।

यसैबीच, गण्डकी प्रदेश समितिको सदस्य पदका लागि ५१ जनाले उम्मेदवारी दिएका थिए। विभिन्न समावेशी तथा क्षेत्रगत क्लस्टरबाट ३३ जना प्रदेश सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।

प्रदेश सदस्यतर्फ १२ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रगत सदस्यमा बागलुङ–१ बाट मिना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की तथा तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ।

समावेशी सदस्यतर्फ खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी, मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा तथा अपाङ्गता भएका खसआर्य समूहबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित हुनुभएको छ।

समावेशीतर्फका अन्य निर्वाचित सदस्यहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। रास्वपाको प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनलाई पार्टीभित्र नेतृत्व चयनको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार  ०९ : ०४  बजे