आफूमाथि प्रश्न उठाउनेको ‘काण्ड’ छानबिन हुने अर्थमन्त्री वाग्लेको चेतावनी

काठमाडौं, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि करको दर हेरफेरसम्बन्धी प्रश्न उठाउनेहरूमाथि पनि छानबिन हुने चेतावनी दिनुभएको छ।

बिहीबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले प्रतिपक्षतर्फ संकेत गर्दै आफूविरुद्ध अनावश्यक आरोप लगाउनेहरूका ‘काण्ड’ सार्वजनिक हुने दाबी गर्नुभयो।

उहाँले आफूविरुद्ध केही व्यक्तिहरूले लेखेका र लगाएका आरोपलाई “खोस्टा” को संज्ञा दिँदै त्यसप्रति कडा आपत्ति जनाउनुभयो।

“दुई अर्ब होइन, दुई रुपैयाँ पनि बदमासी मबाट भएको छ भने म मन्त्री पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार छु,” उहाँले भन्नुभयो।

उहाँले आफूमा भ्रष्टाचारको कुनै पनि आरोप प्रमाणित भए पद त्याग गर्न तयार रहेको दोहोर्‍याउँदै आफूलाई औँला ठड्याउनेहरूले पनि नैतिक साहस देखाउनुपर्ने टिप्पणी गर्नुभयो।

अर्थमन्त्री वाग्लेको उक्त अभिव्यक्तिपछि सत्तापक्षका सांसदहरूले समर्थनमा ताली बजाएका थिए भने प्रतिपक्षी सांसदहरूप्रति संकेत गर्दै उहाँले उनीहरूको पनि काण्डहरू खुल्ने चेतावनी दिनुभएको थियो।

संसदमा उहाँको अभिव्यक्तिले पक्ष–विपक्षबीच फेरि तनाव बढाएको देखिएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  २० : १२  बजे