काठमाडौं, २४ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत गरेको एक व्यङ्ग्यात्मक टिप्पणीले राजनीतिक तथा प्रशासनिक वृत्तमा नयाँ बहस सुरु गरेको छ। बालेनले शनिबार राति फेसबुकमार्फत ‘मलाई पनि राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न’ लेखेपछि उक्त अभिव्यक्ति चर्चाको विषय बनेको हो।
बालेनको उक्त स्टाटसमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले ‘म्यासेज गर्दिम्?’ भन्दै प्रतिक्रिया जनाएका थिए। प्रधानमन्त्री र मन्त्रीबीचको यो संवाद सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ भने समर्थक र आलोचकहरूबीच विभिन्न टिप्पणीहरू भइरहेका छन्।
बालेनको टिप्पणीलाई हालै उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुस्कर कर्णसँग जोडेर हेरिएको छ। कर्णले आफूलाई राजदूत बन्न इच्छा रहेको भन्दै प्रधानमन्त्रीलाई सन्देश पठाएको विषय सार्वजनिक भएपछि उनी दिनभर प्रहरीको सोधपुछमा परेका थिए। त्यस घटनापछि प्रशासनिक नियुक्ति प्रक्रिया, राजनीतिक पहुँच र शक्ति केन्द्रसँगको सम्बन्धबारे प्रश्न उठिरहेका बेला बालेनको अभिव्यक्ति आएको हो।
राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको टिप्पणी केवल व्यक्तिगत मजाक नभई नियुक्ति प्रक्रियामाथि गरिएको व्यङ्ग्यका रूपमा बुझ्न सकिन्छ। राजदूतजस्तो संवेदनशील कूटनीतिक पदका लागि योग्यता, प्रतिस्पर्धा र संस्थागत प्रक्रियाभन्दा पहुँच र व्यक्तिगत सम्पर्कले भूमिका खेल्ने गरेको जनधारणा बलियो बन्दै गएको सन्दर्भमा उनले कटाक्ष गरेको हुनसक्ने विश्लेषण गरिएको छ।
सरकारका प्रवक्ताको ‘म्यासेज गर्दिम्?’ भन्ने जवाफले पनि घटनालाई थप राजनीतिक रंग दिएको छ। सामाजिक सञ्जालमा कतिपयले यसलाई हल्का शैलीको संवाद भनेका छन् भने केहीले राज्यका उच्च पदाधिकारीहरूले सार्वजनिक रूपमा यस्तो शैली अपनाउनु उचित नभएको टिप्पणी गरेका छन्।
बालेनको एक लाइनको स्टाटसले भने नियुक्ति प्रक्रिया, प्रशासनिक स्वतन्त्रता र शक्ति केन्द्रको पहुँचबारे फेरि एकपटक सार्वजनिक बहसलाई तातो बनाएको छ। विशेषगरी सचिव कर्ण प्रकरणपछि आएको यो टिप्पणीलाई धेरैले ‘व्यवस्थामाथिको व्यङ्ग्य’ र ‘नियुक्ति संस्कृतिमाथिको प्रश्न’का रूपमा व्याख्या गरिरहेका छन्।









प्रतिक्रिया