एक हातले मोटरसाइकल चलाएर भिडियो बनाएका हर्क साम्पाङ कारबाहीको दायरामा

विराटनगर, २३ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक नियम उल्लङ्घन गरेको विषयमा कारबाहीको दायरामा आउने भएका छन् । नेपाल प्रहरीअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले साम्पाङले सार्वजनिक गर्नुभएको भिडियोले नै ट्राफिक नियम उल्लङ्घन भएको पुष्टि गर्ने बताउनुभएको छ ।

प्रहरी उपरीक्षक गिरीका अनुसार भिडियोमा साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले मोबाइलबाट भिडियो खिच्नुभएको देखिन्छ । साथै उहाँले हेल्मेटसमेत नलगाएको स्पष्ट देखिएकाले प्रचलित ट्राफिक नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

“कानुन सबै नागरिकका लागि समान हो । सर्वसाधारणलाई लाग्ने नियम सार्वजनिक व्यक्तित्वलाई पनि उत्तिकै लागू हुन्छ,” प्रहरी उपरीक्षक गिरीले भन्नुभयो, “उहाँजस्ता सार्वजनिक जीवनमा रहेका व्यक्तिले त झन् नियम पालनाको सन्देश दिनुपर्छ ।”

केही दिनअघि उदयपुरबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा पर्नुभएका साम्पाङले सामाजिक सञ्जालमार्फत आफू सामान्य घाइते भएको जानकारी दिनुभएको थियो । उहाँले सार्वजनिक गर्नुभएको भिडियोमा हातमा चोट लागेको देखिएको छ ।

ट्राफिक प्रहरीले कारबाहीका लागि उहाँको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी साधनको ब्लुबुक आवश्यक पर्ने जनाएको छ । आवश्यक विवरण सङ्कलनको काम भइरहेको प्रहरीको भनाइ छ ।

दुर्घटनापछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै साम्पाङले “म आफैँ लडेँ, चोट मलाई नै लाग्यो, देशलाई चोट दिएको छैन” भन्ने अभिव्यक्ति दिनुभएको थियो । यस्तै, सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले कारबाहीको विषयमा प्रश्न उठाउँदै आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो ।

यस घटनापछि ट्राफिक नियमको पालना, सार्वजनिक व्यक्तित्वको जिम्मेवारी तथा सडक सुरक्षाका विषयमा सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ । प्रहरीले भने नियम उल्लङ्घन गर्ने जोसुकै भए पनि कानुनअनुसार कारबाही हुने स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार  १५ : ५३  बजे