‘विकल्पविना उठिबास लगाइए देशव्यापी आन्दोलन गर्ने भूमिहीन संगठनको चेतावनी’

भूमिहीनमाथि डोजर आतंक रोक्न चेतावनी, आन्दोलन चर्काउने घोषणा

रूपन्देही, २२ जेठ । नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर अभियान, जबर्जस्ती विस्थापन र बेदखलीप्रति गम्भीर आपत्ति जनाएको छ ।

संगठनले यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गर्दै अन्यथा आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चेतावनी दिएको छ ।

समितिका संयोजक खगेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा विभिन्न जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहको नाममा सूचना जारी गरी वर्षौंदेखि बसोबास गर्दै आएका हजारौं भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्ने, घरटहरा भत्काउने र जीविकोपार्जनको आधार समाप्त पार्ने काम भइरहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा मोरङ, सुनसरी, सिराहा, महोत्तरी, पर्सा, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायत विभिन्न जिल्लाका बस्तीहरूमा डोजर अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै यसले सर्वोच्च अदालतको अन्तरिम आदेश, संविधानले सुनिश्चित गरेका मौलिक हक तथा सामाजिक न्यायको अवधारणाविपरीत काम गरेको दाबी गरिएको छ ।

संगठनले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अपराधीको रूपमा चित्रण गर्न खोजिएको आरोपसमेत लगाएको छ। विज्ञप्तिमा उनीहरू यही देशका नागरिक भएको, श्रम र संघर्षमार्फत समाज तथा राष्ट्र निर्माणमा योगदान पुर्याएको उल्लेख गर्दै आवासको हक र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्ने बताइएको छ ।

समितिले सरकारलाई संवाद, व्यवस्थापन, पुनर्स्थापना र न्यायपूर्ण समाधानको बाटो अवलम्बन गर्न आग्रह गरेको छ । डोजर प्रयोग गरेर गरिने जबर्जस्ती विस्थापन तथा दमनकारी गतिविधि तत्काल बन्द गर्न माग गर्दै त्यसो नभए थप सशक्त र कडा संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा डोजर आतंकबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी राज्य र सम्बन्धित निकायले लिनुपर्ने उल्लेख गरिएको छ । भूमि, आवास र सम्मानपूर्ण जीवनयापनको अधिकार सुनिश्चित नभएसम्म आफ्नो आन्दोलन जारी रहने पनि संगठनले जनाएको छ ।

साथै समितिले जेठ ३० र ३१ गते काठमाडौंमा आयोजना गरिने भूमि अधिकारसम्बन्धी वृहत् जनसभामा सहभागिताका लागि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायलाई आह्वान गरेको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार  १९ : ३०  बजे