संसदमा सत्तापक्ष–प्रतिपक्षबीच घम्साघम्सी

काठमाडौं, १७ जेठ । संसद बैठकमा आज सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच घम्साघम्सी भएको छ। अवस्था नियन्त्रण बाहिर जान थालेपछि केहीबेर मर्यादापालक र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेलसमेत भएको थियो।

सभामुखले नियमावलीसम्बन्धी संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अघि बढाएसँगै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। प्रमुख प्रतिपक्षी दल वासना थापा ले सभामुखसँग समय माग्दै उक्त प्रस्ताव समितिमा थप छलफलका लागि पठाउनुपर्ने भन्दै तत्काल निर्णयार्थ नलैजान आग्रह गर्नुभएको थियो।

तर सभामुखले कार्यसूचीअनुसार प्रस्ताव अघि बढाएपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संयुक्त रूपमा ‘वेल’ घेराउ गरेका थिए।

सभामुखले पटक–पटक सभाको मर्यादा कायम राख्न आग्रह गरे पनि विपक्षी सांसदहरूले विरोध जारी राखेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन सत्तापक्षका सांसदहरू पनि आसनबाट उठेर ‘वेल’ क्षेत्रमा पुगेका थिए, जस क्रममा दुवै पक्षबीच घम्साघम्सी भएको हो।

अवस्था तनावपूर्ण बनेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार  २१ : ५०  बजे