काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह ले सङ्घीय संसद्मा व्यक्त गर्नुभएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु ले आइतबार साँझ काठमाडौंमा मसाल जुलुससहित प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिनुभएको भन्दै युवा तथा विद्यार्थी संगठनहरूले त्यसको विरोधमा सडक प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित, स्वाधीनता तथा भौगोलिक अखण्डताविरुद्ध रहेको आरोप लगाउँदै उक्त भनाइ तत्काल फिर्ता लिन माग गरेका थिए। उनीहरूले विभिन्न नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
युवा संघ र अनेरास्ववियुका नेताहरूले नेपालको सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार रहेको दाबी गर्दै यसले राष्ट्रिय भावनामा चोट पुर्याएको बताएका छन्। उनीहरूले प्रधानमन्त्रीले विवादित भनाइ सच्याउँदै जनतासमक्ष स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्।
प्रधानमन्त्री शाहको संसद्मा व्यक्त अभिव्यक्तिलाई लिएर पछिल्ला दिनमा राजनीतिक दल, सीमाविद् तथा विभिन्न संघ–संगठनबाट निरन्तर प्रतिक्रिया आइरहेका छन्। उक्त विषय अहिले राजनीतिक बहसको प्रमुख मुद्दा बनेको छ।








प्रतिक्रिया