राप्रपा फुटको चर्चा बीच एकजुट हुन तीन पूर्वअध्यक्षको आह्वान

काठमाडौँ, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि र विवादका बीच पार्टीका तीन पूर्वअध्यक्षहरूले कार्यकर्ता तथा शुभेच्छुकहरूलाई एकजुट भएर संगठन सुदृढ बनाउन आग्रह गर्नुभएको छ ।

राप्रपाका पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापा ले शनिबार संयुक्त वक्तव्य जारी गर्दै पार्टीको भविष्य उज्ज्वल रहेको उल्लेख गर्नुभएको हो ।

संयुक्त वक्तव्यमा उहाँहरूले वर्तमान परिस्थितिबाट विचलित नहुन र संगठन निर्माण तथा सुदृढीकरणमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । साथै, पार्टीलाई कमजोर बनाउने कुनै पनि ‘आत्मघाती कदम’ नचाल्न विशेष अनुरोध गरिएको छ ।

पूर्वअध्यक्षहरूले पार्टीभित्र देखिएका समस्या, विकृति र चुनौतीहरूको समाधान आगामी महाधिवेशनमार्फत हुने विश्वास व्यक्त गर्दै संगठनात्मक एकताको आवश्यकता औँल्याउनुभएको छ ।

उहाँहरूले हालैको निर्वाचन परिणाम अपेक्षाअनुसार नभए पनि उचित रणनीति, स्पष्ट राजनीतिक दिशा र संगठनात्मक एकताका साथ अघि बढे पार्टीले छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्न सक्ने दाबी गर्नुभएको छ ।

वक्तव्यमा हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापनासहित राप्रपाका मूल एजेन्डालाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता पनि दोहोर्याइएको छ ।

राप्रपाले आगामी जेठ महिनाको अन्तिम साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी गरेको छ । उक्त बैठकबाट पार्टीको महाधिवेशनको मिति तय गरिने जनाइएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार  ०८ : ३८  बजे