काठमाडौँ, १६ जेठ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामप्रति आशंका व्यक्त गर्दै निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको दुई तिहाइनजिकको सिटलाई ‘सुनामी’को संज्ञा दिनुभयो ।
उहाँले उक्त निर्वाचन परिणामका पछाडिका कारणबारे खोजी भइरहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियामा विभिन्न निकायहरूको भूमिकाबारे भविष्यमा थप तथ्य खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
“यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो । यसका पछाडिका कारणहरूको खोजी पनि भइरहेको छ,” उहाँले भन्नुभयो, “सेनाको भूमिका कस्तो रह्यो, सरकारको भूमिका कस्तो रह्यो, निर्वाचन आयोगको भूमिका कस्तो रह्यो, मतपत्रको अवस्था कस्तो रह्यो भन्ने विषय एक न एक दिन खुल्दै जानेछ ।”
पूर्वप्रधानमन्त्री नेपालले वि.सं. २०४७ सालको संविधान निर्माणदेखि नै महिला तथा दलित समुदायको विशेष प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गराउनुभयो ।
उहाँले पछिल्लो निर्वाचन परिणामलाई अस्थायी राजनीतिक ‘सुनामी’को संज्ञा दिँदै पार्टीका नेता–कार्यकर्तालाई निराश वा विचलित नहुन आग्रह गर्नुभयो ।
“विपक्षीहरू आक्रामक देखिँदैमा आफ्ना साथीहरू टाउको लुकाएर भाग्नुपर्ने वा रक्षात्मक हुनुपर्ने अवस्था छैन,” उहाँले भन्नुभयो ।
साथै, उहाँले हाल निर्वाचित नयाँ दलका प्रतिनिधिहरूलाई लक्षित गर्दै मुलुकमा लोकतान्त्रिक परिवर्तन र अधिकार प्राप्तिका लागि भएका ऐतिहासिक संघर्षबारे पर्याप्त जानकारी नभएको टिप्पणी पनि गर्नुभयो ।








प्रतिक्रिया