काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्ट ले एमाले सचिवालय बैठकमा उठेका विषयहरू अतिरञ्जित ढङ्गले बाहिर प्रचार गरिएको बताउनुभएको छ।
शुक्रबार सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठेको भन्ने चर्चा वास्तविकताभन्दा फरक रूपमा प्रस्तुत गरिएको टिप्पणी गर्नुभयो।
उहाँले पार्टी बैठकभित्र विभिन्न धारणा र समीक्षा हुनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर सार्वजनिक अभिव्यक्ति दिन नहुने धारणा राख्नुभयो।
‘बैठकभित्र विभिन्न विषयमा छलफल हुन्छन्। तर पार्टीको मुख्य लाइनभन्दा बाहिर बोल्नु उचित हुँदैन,’ उहाँले भन्नुभयो।
भट्टले पार्टीभित्र नेतृत्वका कमजोरी, रणनीति र कार्यशैलीबारे समीक्षा भए पनि अध्यक्ष केपी शर्मा ओली ले तत्काल नेतृत्व छाड्नुपर्ने खालको कुरा नउठेको स्पष्ट पार्नुभयो।
उहाँका अनुसार बैठकको मुख्य भावना पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अध्यक्ष ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने रहेको थियो।
‘पार्टीका कमीकमजोरी कहाँ छन्, त्यसको समीक्षा गरेर सुधार गर्दै अध्यक्षकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने धारणा नै बैठकमा देखियो,’ उहाँले भन्नुभयो।
उहाँले पार्टीभित्र अनुशासन, विधि र पद्धतिलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सबै नेताले आफ्ना धारणा पार्टी कमिटीभित्रै राख्नुपर्ने बताउनुभयो।
भट्टले एमालेलाई एकताबद्ध बनाएर आगामी राजनीतिक चुनौती सामना गर्नुपर्नेमा समेत जोड दिनुभयो।








प्रतिक्रिया