काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले प्रधानमन्त्री बालेन शाह को कार्यशैली संसदीय लोकतन्त्रभन्दा फरक हुँदै अमेरिकी राष्ट्रपति प्रणालीको जस्तो देखिएको टिप्पणी गर्नुभएको छ।
दाङको तुलसीपुरमा बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मुलुकको शासन प्रणाली संसदीय लोकतन्त्र भए पनि प्रधानमन्त्री शाहको अभ्यास प्रत्यक्ष कार्यकारी शैलीतर्फ उन्मुख देखिएको धारणा व्यक्त गर्नुभयो।
उहाँले संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने भए पनि पछिल्ला दुई अधिवेशनमा प्रधानमन्त्रीले संसदमा सम्बोधन नगरेको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो।
‘अर्थात संसदप्रति प्रधानमन्त्रीको जवाफदेहीता छैन,’ उहाँले भन्नुभयो, ‘हामी साँच्चै संसदीय लोकतन्त्रको बाटोमा हिँडिरहेका छौँ कि छैनौँ भन्ने प्रश्न उठेको छ।’
महासचिव पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत हुँदा समेत प्रधानमन्त्री संसदमा उपस्थित नभएको विषयले लोकतान्त्रिक अभ्यासप्रति प्रश्न उठाएको बताउनुभयो।
उहाँका अनुसार संसदीय लोकतन्त्रमा सरकार अविछिन्न अधिकारसहितको संस्था भए पनि अध्यादेशमार्फत पुराना निर्णय तथा राजनीतिक नियुक्तिहरू बदर गर्ने अभ्यास उचित नभएको पनि उहाँले टिप्पणी गर्नुभयो।
उहाँले यस्तो अभ्यासले भविष्यमा राजनीतिक अस्थिरता निम्त्याउन सक्ने भन्दै चेतावनीसमेत व्यक्त गर्नुभयो।








प्रतिक्रिया