काठमाडौं, ७ जेठ । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन सभामुख डोलप्रसाद अर्यालले गर्नुभएको आग्रहसमेत प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मान्नुभएको छैन ।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाह हालसम्म संसदमा उपस्थित हुनुभएको छैन । यस विषयमा विपक्षी दलहरूले निरन्तर दबाब दिँदै आएका छन् ।
विपक्षीको अवरोधपछि बिहीबार सभामुख अर्यालले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रधानमन्त्री कार्यालय पुग्नुभएको थियो । भेटका क्रममा उहाँले नियमावलीको व्यवस्था स्मरण गराउँदै संसदमा उपस्थित हुन आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।
तर प्रधानमन्त्री शाहले तत्काल उपस्थित हुने प्रतिबद्धता नजनाई “कुनै दिन समय मिलाउँला” भन्ने जवाफ दिनुभएको बताइएको छ । प्रधानमन्त्रीको यस व्यवहारपछि सरकार संसदप्रति उत्तरदायी बन्न नचाहेको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन् ।








प्रतिक्रिया