सरकारप्रति क्षितिज थेवेको कटाक्ष– दुई तिहाइको सरकार छ के को चिन्ता ?

काठमाडौं, ७ जेठ । नेकपा एमालेका सांसद क्षितिज थेवेले सरकारप्रति कटाक्ष गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै जिल्लाको सडकको अवस्थाबारे वर्णन गर्दै यो सरकार दुई तिहाइको भएकाले कुनै चिन्ता नभएको बताउनुभयो ।

उहाँले आफ्नो जिल्लाको सुकेटार एयरपोर्ट विस्तार र कालोपत्रे भयो भएपनि नियमित उडान नभएको चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै उहाँले भन्नुभयो,‘५० वर्ष भयो जनताको सपना अधुरै, सुकेटार एयरपोर्ट विस्तार र कालोपत्रे भयो तर नियमित विमान गएन, वर्षायाम सुरु भयो, पालो सडक रोपाइँको, बहानन्द–दोभान–सडक कालोपत्रे ढिलो स्थिति, कारण आवश्यक बजेट नभएको, देउराली–तिलोक सडक अलपत्र, हाङद्रुङ–फुङ्फुङ्गे सडक हरिबिजोग, साप्लाखु–सुरुम्खिम सडक झन् बिजोग ।’

उहाँले भन्नुभयो,‘थर्पु–यामफुदिन सडक २०४६ सालबाट बनेको अहिलेसम्म उस्तै, पाथिभरा सडक मुख्य विषय नै भयो, पुलहरूको अवस्था कुन शब्दावलीले वर्णन गराऊँ, गरिनसक्नुछ, कालोपत्रे ठेक्का लाग्यो ढुक्क अब त बन्ने भयो, अँ कहाँ भन्नु झन् खलपत्र, हरे के गर्ने होला ?’

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार  १४ : ०६  बजे