आफ्नै सांसदविरुद्ध आशिका तामाङको कडा अभिव्यक्ति

काठमाडौँ,  ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर बेवास्ता गरेको आरोप लागेपछि पार्टीभित्रै छानबिनको माग उठेको छ।

रास्वपाकी सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा सत्यतथ्य अनुसन्धान हुनुपर्ने बताउँदै पार्टीभन्दा माथि उठेर न्यायको पक्षमा उभिनुपर्ने धारणा सार्वजनिक गर्नुभएको हो।

उहाँले “महिला चाहे स्वदेशी होस् वा विदेशी, आखिर उनी आमा हुन्” भन्दै सार्वजनिक भइरहेका विषय सत्य नहुन पनि सक्ने तर गम्भीर आरोपबारे निष्पक्ष अनुसन्धान अनिवार्य रहेको उल्लेख गर्नुभएको छ।

“यदि कसैले अन्याय गर्छ भने त्यो आफ्नै घरको सदस्य किन नहोस्, गलतलाई गलत भन्न छोड्नु हुँदैन,” भन्दै सांसद तामाङले पार्टीभित्रैबाट नैतिक दबाब सिर्जना गर्नुभएको छ।

पछिल्लो समय एक नाइजेरियन युवतीले सांसद कृष्णकुमार कार्कीसँग सम्बन्ध रहेको तथा आफू गर्भवती भएपछि बेवास्ता गरिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो र विभिन्न सामग्री सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको हो।

घटनाले राजनीतिक वृत्तमा तरंग ल्याइरहेका बेला रास्वपाभित्रैबाट आएको सांसद तामाङको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार  ०९ : २९  बजे