काठमाडौँ, ५ जेठ । अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावका कारण हर्मुज जलमार्ग प्रभावित हुँदा नेपालमा रासायनिक मल आपूर्तिमा असर परेको सरकारले जनाएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौसम्म पनि जलमार्ग सहज नभए नेपालमा रासायनिक मल संकट गहिरिन सक्ने चेतावनी दिएको हो।
कृषि विकास महाशाखाका प्रमुख डा. रामकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षका लागि सम्झौता गरिएको ९५ हजार टन मल हर्मुज जलमार्ग अवरुद्ध हुँदा आयात हुन नसकेको जानकारी दिनुभयो। यद्यपि हाल मौज्दातमा रहेको मलले जेठदेखि सुरु हुने धान रोपाइँ सिजनसम्म धान्ने मन्त्रालयको दाबी छ।
मन्त्रालयका अनुसार धान सिजनमा मात्रै नेपालमा वार्षिक कुल मल खपतको करिब ४५ प्रतिशत प्रयोग हुने गर्दछ। यस वर्ष धान रोपाइँका लागि करिब २ लाख ४५ हजार टन मल आवश्यक पर्ने अनुमान गरिएको छ।
डा. श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ लाख ५० हजार टन रासायनिक मल खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। त्यसमध्ये १ लाख ८७ हजार टन मल आपूर्तिको सम्झौता भइसकेको उहाँको भनाइ छ।
विश्व बजारमै रासायनिक मलको उत्पादन र उपलब्धता घट्दा मूल्यसमेत बढिरहेको उल्लेख गर्दै मन्त्रालयले वैकल्पिक ढुवानी र आपूर्ति व्यवस्थाबारे सप्लायरहरूसँग छलफल भइरहेको जनाएको छ।
सरकारले मल अभाव हुन नदिन भारतसँग समेत समन्वय गरिरहेको जनाएको छ। कृषि गणना २०७८ अनुसार नेपालमा धान खेती गर्ने ७६ प्रतिशत कृषक परिवारले रासायनिक मल प्रयोग गर्ने भएकाले प्रत्येक वर्ष रोपाइँ सिजनमा मल अभावको समस्या दोहोरिने गरेको छ।








प्रतिक्रिया