काठमाडौं, जेठ ३ । पूर्वराष्ट्रपति एवम् एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमाले ले जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभएको छ।
तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा बोल्दै उहाँले पार्टीले आत्मसुधार, एकता र जनतासँगको सम्बन्ध सुदृढ गर्दै राष्ट्र र जनताको हितलाई सर्वोपरि राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले ‘जनताको बहुदलीय जनवाद’ को मूल मर्म जनताको मत, अधिकार र जनतामाथिको अटुट विश्वास रहेको उल्लेख गर्नुभयो।
“बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ,” उहाँले बताउनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकास यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै अब कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्नेमा जोड दिनुभयो।
उहाँले कार्यकर्तालाई जनताको दुःख–सुखमा सहभागी हुन तथा समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्न आग्रह गर्नुभयो।
युवापुस्तालाई सम्बोधन गर्दै उहाँले युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना भएको बताउनुभयो।
उहाँका अनुसार शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रूपमा जोड्न सके नेपालले विकास, रोजगारी र समृद्धिको नयाँ ढोका खोल्न सक्छ।
“युवामा आशा, आत्मविश्वास र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता हो,” उहाँले भन्नुभयो, “अब हाम्रा गतिविधि युवा पुस्तामै केन्द्रित हुनुपर्छ।”








प्रतिक्रिया