काठमाडौं, २ जेठ । नेपाल सरकारले भारतबाट ल्याइने सामानमा कडा भन्सार नीति लागू गरेपछि सीमावर्ती क्षेत्रका भारतीय व्यापारीहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले नेपाल सरकारको निर्णयका कारण व्यापार प्रभावित भएको भन्दै नाराजुलुस निकाल्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
भारतीय व्यापारीहरूले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको नीतिविरुद्ध नाराबाजीसमेत गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ‘बालेन सरकार मुर्दाबाद’ लगायतका नारा सुनिएको छ।
नेपाल सरकारले नेपाली रुपैयाँ १०० भन्दा बढी मूल्यका सामानमा ५ प्रतिशतदेखि ८० प्रतिशतसम्म भन्सार शुल्क अनिवार्य गरेपछि सीमावर्ती भारतीय बजारमा व्यापार घटेको गुनासो व्यापारीहरूले गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रक्सौल, जयनगर तथा भैरहवा नजिकका भारतीय बजारमा नेपाली ग्राहकको संख्या उल्लेखनीय रूपमा घटेको छ। यसले किराना पसल, चिप्स, कोल्ड ड्रिंक्स, फलफूल, बिस्कुटलगायत दैनिक उपभोग्य वस्तुको व्यापारमा असर परेको बताइएको छ।
व्यापारीहरूले स्थानीय प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा नेपाल सरकारको निर्णयले आफ्नो जीविकोपार्जनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै नीति फिर्ता लिन माग गरेका छन्।
व्यापार घटेसँगै अटोरिक्सा चालक, कुल्ली तथा साना व्यापारीको आम्दानीसमेत प्रभावित भएको भारतीय पक्षको दाबी छ।
यता नेपालमा पनि केही मधेसी दल तथा नेपाली कांग्रेस ले सरकारले लागू गरेको भन्सार नीतिको विरोध जनाउँदै आएका छन्।
नेपाल सरकारले भने राजस्व संकलन बढाउने, अनौपचारिक व्यापार नियन्त्रण गर्ने तथा स्वदेशी व्यापारीलाई संरक्षण गर्ने उद्देश्यले नीति लागू गरिएको बताएको छ।
यस विषयमा भारतको विदेश मन्त्रालय ले नेपालको आन्तरिक नीति भएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रको दैनिक जनजीवन र परम्परागत व्यापार प्रभावित नहोस् भन्ने चासो व्यक्त गरेको जनाएको छ।








प्रतिक्रिया