प्रधानमन्त्रीको मर्यादाबारे प्रचण्डको आग्रह: “संसद्को गरिमा जोगाउन सबै जिम्मेवार बन्नुपर्छ”

काठमाडौं, २९ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक आदरणीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई संसदीय मर्यादापालनमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ। उहाँका अनुसार प्रधानमन्त्रीले मर्यादापालनमा चुक्ने अवस्था आएमा संसद्को गरिमा नै कमजोर हुने जोखिम रहन्छ।

मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको भूराजनीतिक संवेदनशील अवस्थाले गहिरो विवेक, संयम र जिम्मेवार राजनीतिक व्यवहारको माग गर्ने उल्लेख गर्नुभयो। उहाँले संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ बनाएर मात्रै देशलाई सही दिशातर्फ अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो।

“हाम्रो भू–राजनीतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्दछ। संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामी अघि जान सक्छौं,” उहाँले भन्नुभयो, “हिजोको गतिविधि र प्रमुख प्रतिपक्षी दलको नेताले राख्नुभएको भनाइलाई म समर्थन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले केही निश्चित मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन।”

उहाँले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारले मुलुकको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सबै पक्षले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

“यसमा हामी सबैको ध्यान जाओस्। सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यशैलीमा हामी सबैको भविष्य जोडिएको छ,” उहाँले उल्लेख गर्नुभयो।

संसद्भित्रको आचरण र राजनीतिक मर्यादाबारे पछिल्ला दिनमा चर्को बहस भइरहेका बेला प्रचण्डको यो अभिव्यक्तिले थप ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार  १५ : ३५  बजे