काठमाडौं, २९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र साह बीचमै उठेर बाहिरिएको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको प्रत्यक्ष प्रसारण भइरहेका बेला प्रधानमन्त्री साह उठेर बाहिरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो । धेरै प्रयोगकर्ताले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला बीचमै बाहिरिनुलाई “अशोभनीय” र “मर्यादाविपरीत” भन्दै आलोचना गरेका छन् ।
फेसबुक, टिकटक र एक्समा आएका प्रतिक्रियाहरूमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूले संवैधानिक कार्यक्रमप्रति सम्मान देखाउनुपर्ने धारणा व्यक्त गरिएको छ । कतिपयले भने उनी आकस्मिक कारणले बाहिरिएको हुनसक्ने भन्दै घटनालाई अतिरञ्जित गर्न नहुने टिप्पणी गरेका छन् ।
संविधानविद् तथा राजनीतिक विश्लेषकहरूले संसद् र राष्ट्रपतिको सम्बोधनजस्ता औपचारिक कार्यक्रमहरूमा उपस्थित पदाधिकारीहरूले मर्यादा र प्रोटोकलको विशेष ध्यान दिनुपर्ने बताउँदै आएका छन् । यस्ता घटनाले राजनीतिक नेतृत्वको व्यवहारमाथि जनस्तरमा प्रश्न उठ्ने उनीहरूको भनाइ छ ।
यस घटनाबारे प्रधानमन्त्री कार्यालयले औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर सामाजिक सञ्जालमा भने यो विषयले व्यापक बहस सिर्जना गरेको छ ।








प्रतिक्रिया