काठमाडौं, २८ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले लिपुलेक क्षेत्रमा भारतले नाका सञ्चालन गरिरहँदा नेपाल सरकार मौन बसेको भन्दै कडा प्रश्न उठाउनुभएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राईले सरकारले सीमा सुरक्षामा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता संवेदनशील क्षेत्रमा स्पष्ट कूटनीतिक पहल गर्न माग गर्नुभयो।
“भारतले लिपुलेकमा नाका खोलेर सञ्चालन गरिरहँदा सरकार कहाँ लुक्यो ? किन प्रभावकारी कूटनीतिक वार्ता गर्न सकेन ?,” उहाँले प्रश्न गर्नुभयो।
उहाँले नेपाली सेनाको भूमिकामाथिसमेत प्रश्न उठाउँदै सीमा सुरक्षा सुदृढ गर्नुको सट्टा सुकुम्बासी बस्तीमा परिचालन गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो।
“सीमा जोगाउन नसक्ने तर गरिबका बस्तीमा सेना र डोजर पठाएर आतंक सिर्जना गर्ने काम किन भइरहेको छ ?,” उहाँको प्रश्न थियो।
साम्पाङले वर्तमान सरकार लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास कमजोर बनाउने दिशामा गएको आरोपसमेत लगाउनुभयो। संसद् छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो।
“संसद् छल्नु भनेको जनमत र लोकतन्त्र दुवैलाई कमजोर बनाउनु हो,” उहाँले भन्नुभयो, “नागरिक सर्वोच्चताको रक्षा संसद्को सर्वोच्चताबाट हुन्छ।”
संवैधानिक परिषद्को निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाउँदै उहाँले “६ जनामध्ये ३ जनाले कसरी बहुमत बनाउँछन् ?” भन्दै सरकारको कदमप्रति आलोचना गर्नुभयो।
त्यस्तै बजेट निर्माण प्रक्रियामा प्रतिपक्ष दलसँग पर्याप्त परामर्श नगरेको आरोप लगाउँदै उहाँले राष्ट्रिय सहमतिको अभ्यास कमजोर हुँदै गएको टिप्पणी गर्नुभयो।
भन्सार र राजस्व नीतिमाथि कटाक्ष गर्दै उहाँले साना व्यापारी र सर्वसाधारणबाट कर असुल्ने तर ठूलो स्तरको चोरी पैठारी नियन्त्रण गर्न सरकार असफल भएको दाबी गर्नुभयो।
पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने अभियान, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सीमा विवादका विषयमा सरकारको चर्को आलोचना भइरहेका बेला साम्पाङको अभिव्यक्ति सार्वजनिक भएको हो।








प्रतिक्रिया