सरकारले ल्याएका सबै अध्यादेशहरु तत्काल खारेज गरियोस्–एमाले

काठमाडौं, २८ वैशाख ।सरकारसँग एमालेको मागः सरकारले ल्याएका सबै अध्यादेशहरु तत्काल खारेज गरियोस्
प्रतिपक्ष दल नेकपा (एमाले) ले सबै अध्यादेशहरु तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

सोमवार संघीय संसद प्रतिनिधि सभाको आकस्मिक समय लिएर बोल्दै एमालेकी सचिव पदमा अर्यालले सरकारले स्वेच्छाचारी ढंगले संवैधानिक परिषद सम्बन्धि लगायतका अध्यादेशहरु ल्याएको जिकिर गर्दै तत्काल खारेज गर्नुपर्ने माग गर्नुभएको हो । सरकारले हालै ल्याएका अध्यादेश संसदको हुर्मत लिने, सांसदहरुको अधिकार कुण्ठित गर्ने भएकाले त्यसलाई तत्काल खारेज गर्नुपर्ने उहाँको तर्क थियो । सचिव अर्यालले न्यायपालिका प्रमुखलाई प्रधानमन्त्रीको तजविजमा नियुक्त गर्ने जस्ता आपत्तिजनक कदम अघि बढाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म सरकारलाई स्मरण गराउन चाहन्छु लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ ।

तर सार्वभौम संसदभन्दा माथि कहिल्यै हुन सक्दैन । सत्ताको उन्माद क्षणिक हुनसक्छ । तर संसदीय मर्यादा र विधिको शासन स्थायी हुनुपर्छ । त्यसैले कार्यपालिकाको यो स्वेच्छाचारिता तत्काल बन्द गरियोस् । संसदको हुर्मत लिने, सांसदहरुको अधिकार कुण्ठित गर्ने काम बन्द होस । प्रश्तुत सम्पूर्ण अध्यादेशहरु अविलम्ब खारेज गरियोस् ।’ सचिव अर्यालले सरकार सार्वभौम संसदभन्दा माथि नहुने पनि बताउनु भयो ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १५ : २५  बजे