काठमाडौं, २६ वैशाख । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकामाथि राजनीतिक प्रभाव र शक्ति केन्द्रको दबाब बढ्दै गएको संकेत गर्दै न्यायाधीशहरूलाई निर्भीक भएर काम गर्न आग्रह गर्नुभएको छ ।
७४औँ कानुन दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले दुईतिहाइ सरकार, महाअभियोगको डर वा राजनीतिक प्रभावका कारण न्याय कमजोर हुन नहुने स्पष्ट पार्नुभयो ।
भावुक शैलीमा मन्तव्य राख्दै कामु प्रधानन्यायाधीश मल्लले न्यायपालिकाको स्वतन्त्रता जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “डर र प्रभावमा न्याय सम्भव हुँदैन । चाहे त्यो दुईतिहाइ सरकारको दबाब होस् वा महाअभियोगको भय, न्यायाधीशहरूले त्यसबाट मुक्त भएर फैसला गर्न सक्नुपर्छ ।”
उहाँले न्यायाधीशहरूलाई संविधान, कानुन र न्यायप्रतिको निष्ठालाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गर्दै निष्पक्ष न्याय सम्पादनमा कुनै सम्झौता गर्न नहुने बताउनुभयो ।
कामु प्रधानन्यायाधीश मल्लले आफूले कानुन व्यवसायमा प्रवेश गरेदेखि नै विभेद, अन्याय र दबाबविरुद्ध संघर्ष गर्दै आएको स्मरण गर्नुभयो । “मैले जीवनभर अन्यायविरुद्ध लडाइँ लडेँ, त्यो संघर्ष अझै सकिएको छैन,” भन्दै उहाँ भावुक बन्नुभएको थियो ।
उहाँले न्यायपालिकाको गरिमा जोगाउन न्यायाधीश, कानुन व्यवसायी, सञ्चारमाध्यम र नागरिक समाज सबैको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो । न्यायमाथि राजनीतिक प्रभाव बढ्न थाले लोकतन्त्र नै कमजोर बन्ने खतरा रहेको उहाँको चेतावनी थियो ।
कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, न्यायाधीश, वरिष्ठ अधिवक्ता तथा विभिन्न संवैधानिक निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कामु प्रधानन्यायाधीश मल्लको अभिव्यक्तिलाई पछिल्लो समय संवैधानिक नियुक्ति, प्रधानन्यायाधीश सिफारिस र न्यायपालिकामाथि राजनीतिक हस्तक्षेपबारे भइरहेको बहससँग जोडेर हेरिएको छ ।








प्रतिक्रिया