संघीय सरकारसँग सचेत रहनुहोस्– सभापति गगन थापा

काठमाडौं,  २६ वैशाख ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय सरकारले गरेका गलत काम प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन नहुने बताउनुभएको छ । ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘ग्रीन टेबल’ छलफल श्रृंखलाअन्तर्गत सुकुम्बासी समस्या सम्बन्धी कार्यक्रममा सभापति थापाले संघीय सरकारका कमजोरी दोहोरिन नहुने स्पष्ट सन्देश दिनुभएको हो।

उहाँले सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने बताउनुभयो ।डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै उहाँले कानुन, नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । “कानुनले दिएको अधिकारभन्दा बाहिर गएर केही पनि गर्नु हुँदैन,” थापाले भन्नुभयो । सभापति थापाले दशकौँदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्ने बताउनुभयो ।वास्तविक सुकुम्बासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै कदम चाल्नुपर्ने उहाँको धारणा थियो।थापाले पार्टीले यस विषयमा छुट्टै टोली बनाएर अनुगमन र मूल्यांकन गरिरहेको जानकारी दिँदै ‘ग्रीन टेबल’ छलफलबाट आएका सुझावका आधारमा सबै प्रदेश तथा स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने जानकारी दिनुभयो। नेपाली कांग्रेसले ‘ग्रीन टेबल’ कार्यक्रममार्फत नीति निर्माण र जनसरोकारका विषयमा खुला संवाद अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार  ०७ : ०३  बजे