प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन जालझेल गरिरहनुभएको : गगन थापा

काठमाडौं, २३ वैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहमाथि आफ्ना नजिकका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने उद्देश्यले विभिन्न ‘जालझेल’ गरिरहेको आरोप लगाउनुभएको छ।

बुधबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै माननीय थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याइनु नै सोही उद्देश्यसँग जोडिएको दाबी गर्नुभयो। उहाँका अनुसार संसद् अधिवेशन आह्वान गर्ने र पुनः स्थगित गर्ने क्रमले पनि सरकारको नियतमाथि प्रश्न उठाएको छ।

“संसद् बोलाउने र बन्द गर्ने खेल केवल संवैधानिक प्रक्रियालाई प्रभाव पारेर आफ्ना अनुकूल निर्णय गराउन गरिएको प्रपञ्च हो,” उहाँले भन्नुभयो, “संवैधानिक परिषद्माथि नियन्त्रण कायम गर्न अध्यादेशमार्फत कानुन संशोधन गरिएको देखिन्छ।”

सभापति थापाले प्रधानमन्त्रीको यस्तो कदमले न्यायपालिकाको स्वतन्त्रतामाथि प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो। “प्रधानन्यायाधीश नियुक्ति जस्तो संवेदनशील विषयमा राजनीतिक हस्तक्षेप हुनु लोकतान्त्रिक अभ्यासविरुद्ध हो,” उहाँको भनाइ थियो।

उहाँले सरकारको उक्त कदमविरुद्ध कांग्रेसले संसदभित्र र बाहिर दुवै ठाउँबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो। साथै संवैधानिक निकायहरूको स्वतन्त्रता जोगाउन सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

पछिल्लो समय अध्यादेश, संवैधानिक परिषद् र न्यायपालिकासम्बन्धी विषयमा सत्ता र प्रतिपक्षबीच विवाद चुलिँदै गएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  १७ : ३७  बजे