काठमाडौं, २२ वैशाख — ‘जेनजी मुभमेन्ट नेपाल’ले प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिन गर्न माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गराएको छ। सुकुम्बासी बस्तीमा सञ्चालन गरिएको डोजर अभियानसँग जोडिएका दुई आत्महत्या घटनालाई आधार बनाएर संगठनले ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी कानुनी अनुसन्धानको माग गरेको हो।
संगठनका प्रवक्ता विजय शाहका अनुसार बल्खु र थापाथली क्षेत्रमा भएका घटनाले विस्थापित समुदायमा गम्भीर मानसिक तनाव सिर्जना गरेको भन्दै त्यसमा राज्यको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरिएको छ। निवेदनमा प्रधानमन्त्री शाहकै निर्देशनमा सञ्चालन भएको भनिएको डोजर अभियानका कारण पीडितहरूमा डर, त्रास र अनिश्चितता बढेको दाबी गरिएको छ।
निवेदनमा मुलुकी अपराध संहिता २०७४ को दफा १०८ अन्तर्गत ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी प्रावधान उल्लेख गर्दै सम्बन्धित निकायको जिम्मेवारी निर्धारण गर्न माग गरिएको छ। साथै घटनाको विस्तृत, वस्तुनिष्ठ र निष्पक्ष छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
उजुरीमा दुवै घटनाको पृष्ठभूमि पनि समेटिएको छ। बल्खु सुकुम्बासी बस्तीमा ६१ वर्षीय इन्द्रबहादुर राई डोजर अभियानकै दिन घरबाट निस्केर नदीमा हाम फालेको अवस्थामा मृत भेटिएको उल्लेख छ भने थापाथलीमा १७ वर्षीय रवीन तामाङ घरमै झुन्डिएको अवस्थामा मृत फेला परेको जनाइएको छ।
संगठनले घटनास्थल निरीक्षण, प्रत्यक्षदर्शी तथा पीडित परिवारसँग सोधपुछ, डोजर अभियानमा संलग्न अधिकारीहरूको बयान, साथै सीसीटीभी फुटेज, भिडियो र फोन रेकर्डजस्ता प्रमाण संकलन गरी विस्तृत प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
हाल काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान तीव्र बनिरहेको छ। सरकारले यसलाई नदी किनार सफाइ र शहरी व्यवस्थापनसँग जोडेको दाबी गर्दै आएको छ भने मानवअधिकारकर्मी र विभिन्न संगठनहरूले भने वैकल्पिक व्यवस्थाविना गरिएको विस्थापनलाई अमानवीय भन्दै आलोचना गरिरहेका छन्।








प्रतिक्रिया