काठमाडौं, २० वैशाख । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने निर्णय गर्नुभएको छ। स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भए पनि चिकित्सकहरूको सुझावअनुसार उहाँ हाल निवासमै विश्रामरत रहनुभएको छ।
उहाँको सचिवालयका अनुसार पित्तथैली र हर्नियाको शल्यक्रियापछि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भेटघाटलाई केही समयका लागि सीमित गरिएको हो। अत्यावश्यक बाहेक अन्य भेटघाट स्थगित गरिएको बताइएको छ।
‘संक्रमण नहोस् भन्ने उद्देश्यले केही दिन भेटघाट रोकिनेछ, स्वास्थ्य अवस्था सुधारोन्मुख छ,’ सचिवालय स्रोतले जनाएको छ। चिकित्सकहरूले पूर्ण रूपमा स्वास्थ्य स्थिर भएपछि मात्रै नियमित राजनीतिक गतिविधिमा फर्किन सुझाव दिनुभएको छ।
गत चैत ३० गते त्रिवि शिक्षण अस्पतालमा उहाँको शल्यक्रिया गरिएको थियो। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र केही दिनपछि राजनीतिक भेटघाट पुनः सुरु हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया