काठमाडौं, २४ चैत : स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिसम्बन्धी विषय सार्वजनिक भएसँगै श्रम तथा रोजगारमन्त्री दीपक साह की पत्नी जुनु श्रेष्ठ विवादमा तानिनुभएको छ।
यसअघि बोर्डकै सदस्य रहनुभएकी श्रेष्ठ पछिल्ला गतिविधिका कारण निलम्बनमा पर्नुभएको थियो। उहाँलाई पुनः सोही पदमा फर्काउने तयारी भएको चर्चा बाहिरिएपछि राजनीतिक तथा सार्वजनिक वृत्तमा आलोचना सुरु भएको हो।
केही सञ्चारमाध्यममा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता ले जुनु श्रेष्ठलाई पुनः बोर्ड सदस्यमा नियुक्त गर्नुभएको समाचार सार्वजनिक भएपछि उहाँले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिनुभएको छ।
श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ, “स्वास्थ्य बीमा बोर्ड सदस्यसम्बन्धी आइरहेको खबरप्रति मेरो कुनै सम्बन्ध छैन र मैले मनोनयनसम्बन्धी कुनै पत्र पनि बुझेकी छैन।”
स्रोतका अनुसार उहाँ यसअघि बोर्ड सदस्य हुँदा वैदेशिक कार्यक्रममा सहभागी हुन मात्र नियुक्ति लिएको आरोप लागेको थियो। साथै, बोर्डका बैठकहरूमा लगातार अनुपस्थित रहनुभएपछि समितिले उहाँलाई निलम्बन गरेको बताइएको छ।
बोर्डको आधिकारिक वेबसाइटबाट समेत उहाँको नाम हटाइएको देखिएको छ।
यद्यपि, उहाँलाई पुनः बोर्ड समितिमा पुनर्स्थापना गराउने प्रयास भएको चर्चा बाहिरिएपछि विवाद चर्किएको हो।
यस विषयमा मन्त्रालय वा बोर्डको तर्फबाट औपचारिक धारणा सार्वजनिक भइसकेको छैन।
प्रकरण सार्वजनिक भएपछि नियुक्ति प्रक्रिया, पारदर्शिता र राजनीतिक पहुँचको दुरुपयोगबारे प्रश्न उठ्न थालेका छन्।







प्रतिक्रिया