काठमाडौं, २१ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक ले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि (आइतबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशअनुसार विपक्षी सरकार पक्षबाट लिखित जवाफ पेश भइसकेको स्रोतले जनाएको छ। अब मुद्दाका सबै आवश्यक प्रक्रिया पूरा भएकाले दुवै रिट भोलिको पेसीमा चढ्ने तयारी भएको बताइएको छ।
जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै नेतालाई पक्राउ गरेको थियो। यसअघि जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
उक्त पक्राउ गैरकानुनी रहेको दाबी गर्दै दुवै नेताका तर्फबाट चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको थियो। ओलीका तर्फबाट उहाँकी पत्नी राधिका शाक्य र लेखकका तर्फबाट यशोदा लेखकले रिट दायर गर्नुभएको हो।
चैत १६ गते छुट्टाछुट्टै इजलासमा प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। अदालतले तत्काल रिहाइको अन्तरिम आदेश भने जारी नगरी पक्राउको कानुनी आधार स्पष्ट पार्न सरकारलाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।
अब सरकारको जवाफ आइसकेकाले मुद्दामा दुवै पक्षबीच कानुनी बहस हुने तयारी भएको छ। यो सुनुवाइले ओली र लेखकको हिरासत, अनुसन्धान प्रक्रिया तथा जेनजी आन्दोलन प्रकरणको राजनीतिक र कानुनी दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया