नेपाली सेना, संवैधानिक अंग र कर्मचारीप्रति एमालेको कुनै वैरभाव छैन : योगेश भट्टराई

काठमाडौं, १९ चैत्र ।  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको कुनै पनि वैरभाव नभएको र सुरक्षा, संवैधानिक अंग तथा कर्मचारीतन्त्रप्रति विश्वास रहिरहने स्पष्ट गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत उहाँले उल्लेख गर्नुभयो, “नेपाली सेना लगायत सुरक्षा अंगहरू, न्यायालय तथा कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन। त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास कायम रहनेछ। संसद् वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहनेछ।”

उहाँले पार्टीका सिद्धान्तलाई सम्झाउँदै भन्नुभयो, “जनताको बहुदलीय जनवाद नेकपा एमालेको मूल सिद्धान्त हो। प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, शान्तिपूर्ण र वैधानिक बाटोबाट समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने हाम्रो मान्यता हो।”

भट्टराईले थप स्पष्ट गर्नुभयो कि पार्टीले जनमतको सम्मान गर्ने र चुनावी पराजयको समीक्षा गरी कमजोरी सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा अघि बढ्नेछ। उहाँका अनुसार, “यो व्यवस्था ल्याउन मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल भए पनि राज्यपक्षीय दलको हैसियतले संस्थाप्रति हाम्रो सम्मान कायम रहन्छ।”

यसै दिन प्रतिनिधि सभामा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म नेपाली सेनासँग सम्बन्धित केही अभिव्यक्तिहरू ब्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार  २१ : ११  बजे