प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

बागलुङ, १७ चैत । बागलुङ र पर्वतको सिमानास्थित मालढुङ्गामा प्रहरी जाँचका क्रममा भागेका एक युवा कालीगण्डकी नदी मा हाम फालेर बेपत्ता हुनुभएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वत का अनुसार बागलुङबाट टिपरमार्फत पर्वततर्फ जाँदै गर्नुभएका पर्वतको जलजला गाउँपालिका–८ निवासी २५ वर्षीय विशाल बिक प्रहरीको नियमित जाँचका क्रममा भागेर नदीमा हाम फाल्नुभएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पट्टेल ले बागलुङ–पर्वत सिमानामा रहेको पर्वत अस्थायी प्रहरी पोष्टमा नियमित जाँचका क्रममा उक्त घटना भएको जानकारी दिनुभयो।

प्रहरीका अनुसार विशाल बिक बागलुङबाट बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग १ क ५२४४ नम्बरको टिपर मा सवार हुनुहुन्थ्यो। टिपर चालक भने घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।

यसैबीच, बिकका परिवारले भने प्रहरीले लखेटेर नदीमा हाम फाल्न बाध्य बनाएको आरोप लगाएका छन्। घटनाको विरोधमा परिवार तथा स्थानीयले बिहान सडक अवरुद्धसमेत गरेका छन्।

घटनापछि आज बिहानदेखि नेपाल प्रहरीसशस्त्र प्रहरी बल को तालिमप्राप्त टोलीले कालीगण्डकी नदीमा खोजी कार्य जारी राखेको छ।

प्रहरीले फरार टिपर चालकको खोजीसमेत भइरहेको जनाएको छ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार  १२ : ०५  बजे