ज्यानमार्ने धम्की दिएको भन्दै हर्क साम्पाङद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं, १६ चैत । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले आफूमाथि ज्यान मार्ने तथा घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरो मा उजुरी दिनुभएको छ।

उहाँले सोमबार सुनिता खड्का नामकी एक महिलाविरुद्ध उजुरी दर्ता गराउँदै सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई ज्यान मार्ने र घरमा आगजनी गर्ने धम्की दिइएको उल्लेख गर्नुभएको छ।

उजुरीमा साम्पाङले ती महिलालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समर्थक भएको दाबी गर्नुभएको छ।

उहाँको उजुरीमा भनिएको छ, “मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउनेसम्मको धम्की आमसञ्चारमार्फत दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु।”

सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा धम्की र अपमानजनक अभिव्यक्ति आएको भन्दै उहाँले साइबर अपराधअन्तर्गत तत्काल अनुसन्धान र कारबाहीको माग गर्नुभएको छ।

यस घटनाले पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो राजनीतिक कटुता र धम्कीपूर्ण अभिव्यक्तिको विषयलाई पुनः चर्चामा ल्याएको छ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  १६ : १५  बजे