काठमाडौं, १६ चैत । पक्राउ परेका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा आइतबार प्रहरीले उहाँलाई पक्राउ गरेपछि जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतबाट म्याद थपको अनुमति प्राप्त भएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान करिब ३ बजे उहाँलाई त्रिवि शिक्षण अस्पताल ल्याइएको अस्पताल स्रोतले जनाएको छ।
हाल उहाँ अस्पतालको बेड नम्बर १०२९ मा चिकित्सकहरूको निगरानीमा उपचाररत हुनुहुन्छ।
गृहमन्त्री सुधन गुरुङ ले भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा खड्का निवासबाट बरामद भएको रकमसम्बन्धी अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभएको थियो। उक्त प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जलेका नोटका टुक्रा र खरानी संकलन गरी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
यसैबीच, जेन–जी आन्दोलन दमनको आरोपमा पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सोही शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँ शनिबारदेखि चिकित्सकको निगरानीमा राखिनुभएको बताइएको छ।
पछिल्ला घटनाक्रमले मुलुकको राजनीतिक वृत्तमा थप तरंग उत्पन्न गरेको छ। पक्राउ परेका उच्च राजनीतिक व्यक्तित्वहरू अस्पताल भर्ना हुन थालेपछि घटनाले नयाँ मोड लिएको विश्लेषण हुन थालेको छ।







प्रतिक्रिया