काठमाडौं, १४ चैत । नेपाली कांग्रेस को देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
शनिबार काठमाडौंको ठमेलस्थित रमादा होटल मा बसेको देउवा पक्षीय शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्का ले विज्ञप्ति जारी गर्दै सरकारको कदमलाई “राजनीतिक प्रतिशोध” भन्दै कडा आपत्ति जनाउनुभएको छ।
विज्ञप्तिमा सरकार गठन भएलगत्तै दुराशयपूर्ण ढंगले गरिएको यस प्रकारको कदमले सरकार संविधान र लोकतान्त्रिक प्रतिबद्धताबाट विचलित भएको संकेत दिएको उल्लेख गरिएको छ। “यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।
देउवा समूहले आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा कानुनी प्रक्रिया पूरा नगरी तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको मर्मविपरीत रहेको तर्क गरेको छ। साथै, यस्तो कदम पूर्वाग्रह प्रेरित भएको आरोप समेत लगाइएको छ।
उक्त समूहले भदौ २३ र २४ गतेका घटनाबारे गठन गरिएको आयोगले आफ्नो कार्यादेशअनुसार दुवै दिनका घटनाको समग्र अध्ययन नगरेको दाबी गर्दै प्रतिवेदन पक्षपातपूर्ण रहेको निष्कर्ष निकालेको छ। विशेषगरी २४ गतेका घटनामा भएको मानवीय तथा भौतिक क्षतिबारे मौन रहनुले प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाएको जनाएको छ।
कांग्रेस देउवा समूहले आगामी दिनमा उत्पन्न हुन सक्ने राजनीतिक परिस्थितिको सामना गर्न पार्टीका नेता तथा कार्यकर्तालाई तयार रहन आह्वान गर्दै आन्दोलनका सम्भावित कार्यक्रमबारे पनि संकेत गरेको छ।







प्रतिक्रिया