काठमाडौं, १४ चैत्र । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय अपरिपक्व रहेको बताउनुभएको छ।
शनिबार जारी गर्नुभएको विज्ञप्तिमा भण्डारीले उक्त कदम वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने उल्लेख गर्नुभएको हो।
उहाँले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो प्रतिवेदन स्वयं पूर्ण र पर्याप्त नभएको विभिन्न अध्ययनबाट देखिएको दाबी गर्नुभएको छ।
“कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ,” उहाँले भन्नुभएको छ, “हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ।”
भण्डारीले सरकार गठन भएको छोटो समयमै यस्तो संवेदनशील निर्णय गर्दै उच्च राजनीतिक तहका व्यक्तिलाई पक्राउ गर्नु दूरगामी प्रभाव पार्ने विषय भएको उल्लेख गर्नुभएको छ।
सुशासनलाई प्रमुख एजेन्डा बनाएर बनेको सरकारबाट यस्तो कदम चालिनु दुःखद् भएको जनाउँदै उहाँले लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासनलाई सम्मान गर्दै निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ।
साथै, उहाँले सरकारलाई संयमता अपनाउन, विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन सुझाव दिनुभएको छ।







प्रतिक्रिया