नवनिर्वाचित सांसदको शपथ आज, ४७ जनाले मातृभाषामा शपथ लिने

काठमाडौं, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। शपथ कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने भएको छ।

शपथ गराउने जिम्मेवारी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सम्हाल्नुहुनेछ। उहाँले यसअघि रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरिसक्नुभएको छ।

संघीय संसद् सचिवालय का अनुसार यसपटक ४७ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।

नवनिर्वाचित प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी का सबैभन्दा धेरै १८२ सांसद, नेपाली कांग्रेस का ३८, नेकपा एमाले का २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद रहेका छन् भने एक स्वतन्त्र सांसद पनि छन्।

गत भदौ २४ को प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा क्षति पुगेकाले यसपटक शपथ कार्यक्रम सिंहदरबारभित्र अस्थायी रूपमा निर्माण गरिएको हलमा सञ्चालन गर्न लागिएको हो।

शपथपछि प्रतिनिधिसभाको औपचारिक कामकारबाही अघि बढ्नेछ भने संविधानअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  ०७ : ३८  बजे