रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद: आज पनि सुनुवाइ नसकिँदा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं, १० चैत्र । । रवि लामिछाने विरुद्धको अभियोग संशोधनसम्बन्धी विवादमा दायर रिटमाथि आज पनि सुनुवाइ नसकिँदा सर्वोच्च अदालतले मुद्दालाई पुनः ‘हेर्दाहेर्दै’ मा राखेको छ।

सर्वोच्च अदालत का न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सोमबारदेखि सुरु भएको सुनुवाइ मंगलबार पनि टुंगोमा पुग्न सकेन। बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

अधिवक्ताहरू दिनेश त्रिपाठी र युवराज सफललगायतले महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णय बदरको माग गर्दै रिट दायर गरेका हुन्। रिटमा महान्यायाधिवक्ता कार्यालय, सरकारी वकिल कार्यालयहरू तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

रिट निवेदकहरूले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगलाई कमजोर नबनाउन तथा कानुनी प्रक्रिया अवरुद्ध हुन नदिन परमादेश माग गरेका छन्।

महान्यायाधिवक्ता सविता भण्डारी ले गत पुस ३० गते लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गर्नुभएको थियो। उक्त निर्णयपछि उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी का सभापतिका रूपमा निर्वाचनमा सहभागी भई चितवन–२ बाट निर्वाचित हुनुभएको थियो।

अभियोग संशोधनको वैधानिकता र राजनीतिक प्रभावबारे उठेको विवादबीच सर्वोच्च अदालतको आगामी निर्णयले यस प्रकरणको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  २० : २३  बजे