‘एमसीसी–एसपीपीले अमेरिकी सेना आउँदैन’ : सुरेन्द्र पाण्डे को चेतावनी—भित्र सहमति, बाहिर क्रान्तिकारी कुरा बन्द गरौँ

रुपन्देही, ७ चैत ।  नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ले एमसीसीएसपीपी सम्झौताका विषयमा फैलाइएको भ्रमप्रति कडा आपत्ति जनाएका छन्।

उहाँले ती सम्झौताका कारण अमेरिकी सेना नेपाल आउने भन्ने हल्ला निराधार भएको स्पष्ट पार्दै भन्नुभयो, “अमेरिकी सेना आउन एमसीसी वा एसपीपी जस्ता सम्झौता आवश्यक पर्दैन, यो अनावश्यक भ्रम र संशय मात्र हो।”

पाण्डेले राजनीतिक दलहरूको दोहोरो चरित्रमाथि पनि प्रश्न उठाउँदै भित्र सहमति जनाउने तर बाहिर ‘क्रान्तिकारी’ बनेर विरोध गर्ने प्रवृत्तिले देशलाई नोक्सान पुर्‍याइरहेको बताउनुभयो। “यस्तो व्यवहारले केवल अर्थतन्त्र होइन, कूटनीतिक सम्बन्धमै समस्या सिर्जना गर्छ,” उहाँको भनाइ छ।

उहाँले वितरणमुखी अर्थतन्त्रले देशलाई अगाडि बढाउन नसक्ने उल्लेख गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो। जनप्रतिनिधिहरूले आधारभूत आर्थिक ज्ञानबिना स्रोतविहीन योजना बाँड्दा कार्यान्वयनमै समस्या आएको उहाँको टिप्पणी थियो।

साथै, अर्थराजनीतिक समन्वयको अभाव र नेताहरूको आर्थिक विषयमा गम्भीरता नहुनु नै वर्तमान समस्याको जड भएको पाण्डेको विश्लेषण छ।

उहाँले पूँजीवादको सही उपयोगमार्फत समाजवादतर्फ अघि बढ्न सकिने धारणा राख्दै परम्परागत वर्गसंघर्ष पनि पूँजीवादकै संरचनाभित्र विकसित हुने उल्लेख गर्नुभयो।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार  १९ : ३६  बजे