सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश

काठमाडौं, ६ चैत्र । कांग्रेसले गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा भएको हारको प्रारम्भिक समीक्षा गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको प्रारम्भिक समीक्षा प्रतिवेदनमा पार्टीले व्यहोरेको चुनावी हारको समीक्षा गरिएको छ ।

कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको छ । कांग्रेसले चुनावमा अपेक्षित नतिजा आउन नसक्नुमा आफ्ना सफल नीतिहरूको स्वामित्व लिन नसक्नु र विपक्षीको भ्रामक प्रचारलाई चिर्न नसक्नुलाई समेत कारण मानेको छ ।

त्यस्तै पार्टी पराजयको अर्को कारण यसअघिको गठबन्धन सरकारलाई पनि मानेको छ । बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भएको छ । उपसभापति शर्माले चुनावी प्रारम्भिक समीक्षा प्रतिवेदनमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बुँदा राख्नुभएको हो ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले बैठकमा अहिलेसम्म धारणा राख्ने धेरै सदस्यबाट सभापति थापाले पदबाट दिएको राजीनामा अस्वीकार गर्ने पक्षमा आएका बताउनुभएको छ । आजको बैठकका सभापति थापा उपस्थित हुनुभएन । बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्नुभयो । सभापति थापाले अस्ति बुधवार उपसभापति शर्मालाई राजीनामा बुझाउनुभएको थियो ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार  २१ : २९  बजे