मुख्यमन्त्रीहरूद्वारा एमाले अध्यक्ष केपी शर्मा ओली लाई समवेदना व्यक्त

काठमाडौं, ६ चैत  ।  बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित विभिन्न मन्त्री तथा नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रति समवेदना व्यक्त गर्नुभएको छ।

भक्तपुरस्थित गुण्डुमा रहेको निवासमा पुगेर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको टोलीले पितृशोकमा रहनुभएका अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको हो। टोलीमा स्वास्थ्य मन्त्री किरण थापा लगायत अन्य मन्त्रीहरू समेत सहभागी हुनुहुन्थ्यो।

उहाँहरूले अध्यक्ष ओलीका दिवङ्गत पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

त्यसैगरी मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव ले पनि गुण्डु पुगेर अध्यक्ष ओलीप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले स्वर्गीय मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो।

यसैबीच, नेकपाका नेता तथा पूर्वमन्त्रीहरू लीलामणि पोखरेलशशि श्रेष्ठ तथा भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजीव खत्री ले पनि आज गुण्डु पुगेर अध्यक्ष ओलीलाई समवेदना व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार  २१ : ०५  बजे