काठमाडौं, ६ चैत्र । आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । सातै प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मध्यम वर्षा भएको छ । दिउँसो लुम्बिनीका केही जिल्लामा हावाहुरी चलेकोमा लगत्तै पानी परेको हो । दाङ, बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा दिउँसो केहीबेर हावाहुरी चलेको थियो ।
केहीबेर हावाहुरी चलेपछि ती क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दाङको अम्बापुरमा आज ४२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै पछिल्लो तीन घण्टामा नवलपरासीमा ३०।६ मिलिमिटर वर्षा मापन भएको छ ।
मकवानपुरमा पछिल्लो तीन घण्टामा ४४.८ मिलिमिटर पानी परेको छ । त्यस्तै पछिल्लो एक घण्टामा लमजुङ र सङ्खुवासभामा २५ मिलिमिटरसम्म वर्षा मापन भएको छ । कतै(कतै असिना पनि परेको छ । दिउँसो एकैछिन हल्का वर्षा भएको काठमाण्डौ उपत्यकामा पनि बेलुकापख मेघगर्जन र हावाहुरीसहित पानी परेको छ ।
काठमाण्डौमा पनि कतै-कतै असिना झरेको छ । चितवन, मकवानपुर, काभ्रे तथा पूर्वका सोलुखुम्बु, सङ्खुवासभा, सप्तरीलगायतका जिल्लामा पनि पानी परेको छ । आजराती र भोलीसम्म कोशी, मधेश, बागमती, लुम्बिनीको तराई र पहाडी भागमा हावाहुरी चल्ने सम्भावना कायमै रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो ।
यसबाट कमजोर रुख ढल्ने, कमजोर संरचना र छाना उडाउने, विद्युत तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात समेत प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।
हावाहुरी चल्दा गाडी नचलाउन, रुख तथा बिजुलीको खम्बा नजिक नबस्न तथा अनावश्यक बाहिर ननिस्कन विज्ञको आग्रह छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि आइतवारसम्म विभिन्न प्रदेशमा मेघगर्जन, असिना र हुरीसहित वर्षाको सम्भावना छ । मौसम अनुकूल नहुँदा आज केही आन्तरिक उडान प्रभावित भएका छन् । त्रिभुवन विमानस्थलबाट नेपालगन्ज र भैरहवाका लागि केही उडान रद्द गरिएको छ ।







प्रतिक्रिया