कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रधानमन्त्रीसमक्ष आग्रह

काठमाडौं, ६ चैत।  कार्की आयोगले तयार गर्नुभएको प्रतिवेदन तत्काल सार्वजनिक गरिदिनुहुन प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ। सुनसरीको इटहरी–२०, तरहराका संजय खड्काले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई सम्बोधन गर्दै पत्रमार्फत यस्तो अनुरोध गर्नुभएको हो।

खड्काले पत्रमा कार्की आयोगले तयार गर्नुभएको प्रतिवेदन राष्ट्र र जनताको चासो, पारदर्शिता तथा सुशासनका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। लामो समयसम्म प्रतिवेदन सार्वजनिक नभएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसले विभिन्न आशंका जन्माएको बताउनुभएको छ।

पत्रमा विशेषगरी BBC ले सार्वजनिक गर्नुभएको डकुमेन्ट्रीप्रति पनि प्रश्न उठाइएको छ। खड्काले उक्त सामग्रीलाई एकतर्फी भएको उल्लेख गर्दै आयोगले समयमै प्रतिवेदन बुझाउनुभएको भए यस्तो अवस्था नआउने धारणा राख्नुभएको छ। “आयोगले समयमा नै काम सम्पन्न गरी दोषीमाथि कारबाही गर्नुभएको भए विदेशी हस्तक्षेपको प्रयास हुने थिएन,” उहाँको भनाइ छ।

उहाँले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ हुनु सरकारको कमजोरी भएको स्वीकार गर्नुपर्ने उल्लेख गर्दै यसले जनतामा निराशा बढाएको बताउनुभएको छ। साथै, जेन्जी आन्दोलनपश्चात् गठन भएको सरकारले प्रतिवेदन तयार गराए पनि हालसम्म सार्वजनिक नगर्नु विडम्बनापूर्ण भएको टिप्पणी गर्नुभएको छ।

खड्काले प्रतिवेदन सार्वजनिक गराउन फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना नहोस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ। “आफैंले गठन गर्नुभएको सरकारलाई प्रतिवेदन सार्वजनिक गर भन्न पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुःखद हुनेछ,” उहाँले उल्लेख गर्नुभएको छ।

पत्रसँगै प्रतिवेदनलाई अझ प्रभावकारी, व्यवहारिक तथा जनमुखी बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले प्रश्नावलीसमेत संलग्न गरिएको जानकारी गराइएको छ। अन्त्यमा, शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउनु भएकोमा प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दै प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसको प्रभावकारी कार्यान्वयनतर्फ आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार  २० : ५५  बजे