प्रतिनिधिसभा निर्वाचनमा साढे ३ अर्बभन्दा बढी खर्च, अझै भुक्तानी बाँकी

काठमाडौं, ५ चैत्र। प्रतिनिधिसभा सदस्य निर्वाचनमा राज्यको ठूलो धनराशी खर्च भएको विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोग का अनुसार गत फागुन २१ गते सम्पन्न निर्वाचनमा हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भइसकेको छ।

आयोगले निर्वाचन सञ्चालनका लागि कुल ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ बजेट माग गरेको थियो। सोमध्ये अर्थ मन्त्रालय बाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको जनाएको छ।

यद्यपि, खर्चको दायित्व सिर्जना भइसकेको केही रकम भने अझै भुक्तानी हुन बाँकी रहेको आयोगले जानकारी दिएको छ।

निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगले यसअघि खरिद गरिएका सामग्री पुनः प्रयोग गर्ने नीति अपनाएको जनाएको छ। साथै, नयाँ सामग्री खरिद गर्दा सरकारको स्वामित्वमा रहेका संगठित संस्थासँग सम्झौता गरी प्रक्रिया अघि बढाइएको थियो।

आयोगका अनुसार ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री केन्द्रबाट खरिद गरी जिल्लागत रूपमा ढुवानी गरिएको थियो।

निर्वाचनमा खर्च घटाउने प्रयास गरिएको दाबी गरिए पनि अर्बौं रुपैयाँ खर्च भएको तथ्य सार्वजनिक भएसँगै राज्यको वित्तीय व्यवस्थापन र प्राथमिकतामाथि पुनः बहस सुरु भएको छ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार  २० : ४९  बजे