काठमाडौं, २ चैत । प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गर्नुभएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन नेपालको विकासका लागि अपरिहार्य रहेको बताउनुभयो।
उहाँले नेपाललाई समृद्ध बनाउन सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै सबै नेपालीको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। “मातृभूमिप्रतिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय रूपमा सहभागी हुन सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई आह्वान गर्दछु,” प्रधानमन्त्री कार्कीले भन्नुभयो।
उहाँले एनआरएनएको एकताले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै प्रवासी नेपालीको लगानी, ज्ञान र सहकार्यले देशलाई आर्थिक रूपमा सबल बनाउनुका साथै वातावरणीय संरक्षणमा पनि योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हेमराज शर्मासहित नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले विश्वभर छरिएका नेपालीलाई एउटै मञ्चमा ल्याउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई नेपालीहरूले नै निर्माण गर्ने बताउँदै प्रवासी नेपाली सरकारसँग सहकार्य गरेर देशको विकासमा योगदान दिन तयार रहेको बताउनुभयो।
यस्तै, एनआरएनएका संस्थापक अन्तर्राष्ट्रिय संयोजक तथा म्यानमारका लागि पूर्व नेपाली राजदूत भीम उदासले समृद्ध नेपाल निर्माणका लागि रणनीतिक साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभयो।
पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा बसे पनि प्रवासी नेपालीहरूमा देशका लागि केही गर्ने भावना बलियो रहेको बताउनुभयो।
यसैगरी, अध्यक्ष बद्री केसीले प्रविधिको युगमा धेरै देशले प्रवासमा रहेका नागरिकलाई मताधिकार दिएको उल्लेख गर्दै नेपालले पनि प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष हेमराज शर्माले प्रवासी नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्ने उद्देश्यका साथ एनआरएनएलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थाको पुनर्संरचना, अनलाइनमार्फत सदस्य सहभागिता विस्तार तथा प्रवासी नेपालीका अधिकारका विषयमा काम गर्ने योजना रहेको बताउनुभयो।







प्रतिक्रिया