काठमाडौं, २ चैत । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको फेला परेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगको हरिसिद्धिस्थित डिपोमा पुगेर १४.२ केजीका ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर स्टक गरेर राखिएको भेट्टाएको हो। अनुगमनका क्रममा ती सिलिन्डर बजारमा पठाउन आनाकानी गरिएको पनि पाइएको विभागले जनाएको छ।
उपभोक्तालाई मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै विभागले उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६ अनुसार ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम ३ लाख रुपैयाँ जरिबाना गरेको छ।
विभागका महानिर्देशक रोशन ज्ञवालीका अनुसार बजारमा ग्यासको अभाव भइरहेका बेला ठूलो परिमाणमा सिलिन्डर थुपारेर राख्नु स्पष्ट रूपमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास हो। उहाँले यस्तो कार्य उपभोक्ता संरक्षण ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप अन्तर्गत पर्ने बताउनुभयो।
विभागले जरिबानासँगै डिपोमा मौज्दात रहेका सबै ६ हजार ३ सय ७७ वटा सिलिन्डरनेपाल आयल निगमको समन्वयमा तत्काल उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको छ।
अनुगमन टोलीका अनुसार बजारमा ग्यास नपाएर सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने अवस्था रहेको समयमा ठूलो परिमाणमा ग्यास होल्ड गरेर राख्नु गैरकानुनी हो। विभागले यस कारबाहीको उद्देश्य बजारमा लुकाइएको ग्यास बाहिर ल्याउनुका साथै अन्य उद्योगलाई पनि सचेत गराउनु रहेको जनाएको छ।
यता ग्यास बिक्रेताहरूले भने उद्योगबाट ग्यास आपूर्ति नआएकाले उपभोक्तालाई सहज रूपमा बिक्री गर्न नसकेको बताएका छन्। विभागले बजारमा अभाव भइरहेको अवस्थामा अन्य ग्यास उद्योगहरूमाथि पनि निगरानी बढाइएको र कालोबजारी वा होल्डिङ गरेको पाइए कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।







प्रतिक्रिया