एमालेमा नेतृत्व परिवर्तन हुँदैन : महेश बस्नेत

काठमाडौं, ३० फागुन। नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र नेतृत्व परिवर्तनको विषय समाप्त भइसकेको बताउनुभएको छ। उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र नेतृत्व परिवर्तनबारे उठाइएका चर्चा अब बन्द भइसकेको स्पष्ट पार्नुभएको हो।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै सचिव बस्नेतले उपमहासचिव योगेश भट्टराईले नेतृत्वले मार्गप्रशस्त नगरे पार्टीमा अप्रिय निर्णय हुन सक्ने भनी दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया दिनुहुँदै त्यस्तो अभिव्यक्ति दिनेहरूलाई नै अप्रिय अवस्था आउन सक्ने चेतावनी दिनुभयो।

उहाँले भन्नुभयो, “जुन आम कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा ल्याउने प्रक्रियामा सहभागी भएर भोट दिनुभएको थियो, उहाँहरूको भावना नबुझी अप्रिय परिस्थिति आउँछ भनेर बोल्नु उचित होइन। कसैले चाहेर मात्र पार्टीभित्र अप्रिय परिस्थिति सिर्जना हुँदैन।”

बस्नेतले यस्ता अभिव्यक्तिले पार्टीलाई होइन, बरु त्यस्ता परिस्थितिको कल्पना गर्ने व्यक्तिहरूलाई नै अप्ठ्यारो अवस्था सिर्जना हुन सक्ने दाबी गर्नुभयो।

सञ्चारकर्मीहरूले नेपाली कांग्रेसजस्तै विशेष महाधिवेशन बोलाएर अध्यक्ष ओलीलाई हटाउने चर्चा चलिरहेकोबारे सोधेको प्रश्नमा उहाँले एमालेको अवस्था फरक रहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार कांग्रेसले समयसीमा सकिएपछि महाधिवेशनको चर्चा गरेको भए पनि एमालेले भने विधानले तोकेको समयभन्दा एक वर्ष अगावै महाधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरिसकेको छ।

उहाँले विगतमा पार्टी नेतृत्वमाथि प्रश्न उठेपछि अध्यक्ष ओलीकै पहलमा समयअघि नै महाधिवेशन सम्पन्न गरिएको उल्लेख गर्दै आगामी १२औँ महाधिवेशनसम्म नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउनुभयो।

बस्नेतले भन्नुभयो, “१२औँ महाधिवेशनसम्मका लागि नेतृत्व परिवर्तनको विषय हाम्रो पार्टीको एजेन्डा नै होइन।”

लोकतान्त्रिक पार्टीभित्र फरक मत राख्न पाइने भए पनि त्यसका लागि निश्चित विधि र फोरम हुने उहाँले बताउनुभयो। पार्टीका आन्तरिक कमिटी, बैठक तथा महाधिवेशनमा आफ्ना धारणा राख्न सकिने भए पनि अनुशासनहीन ढंगले बाहिर अभिव्यक्ति दिन नहुने उहाँको भनाइ थियो।

साथै, नेतृत्वको विषयमा फरक मत राख्दैमा तुरुन्तै कारबाही गर्ने वा निष्कासन गर्ने नीति एमालेमा नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार  १९ : ०३  बजे