काठमाडौं, २४ फागुन । धनुषाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको उम्मेदवारी खारेज भए पनि घण्टी चुनाव चिह्नमा अत्यधिक मत परेपछि मतगणनाको परिणाम अन्योलमा परेको छ ।
पछिल्लो मतपरिणामअनुसार रास्वपाको घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ, यो सङ्ख्या अन्य उम्मेदवारको मतभन्दा १३ हजारले धेरै हो । रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी भने यसअघि नै खारेज भइसकेको छ ।
उम्मेदवारी खारेज भइसकेका उम्मेदवारले सबैभन्दा धेरै मत पाएपछि त्यहाँको परिणाम सार्वजनिक गर्ने विषयमा अन्योल देखिएको हो । पछिल्लो सार्वजनिक मतगणनाअनुसार उम्मेदवारी कायम रहेका उम्मेदवारमध्ये नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का मातृकाप्रसाद यादव ७ हजार ५६६ मतसहित पहिलो स्थानमा र नेपाली कांग्रेसका रामपल्टन साह ७ हजार ४२८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
रास्वपाका उम्मेदवार साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन ११ गते उजुरी निर्वाचन आयोगमा पठाएको थियो । आयोगले फागुन १४ गते साहसँग स्पष्टीकरण मागेको थियो भने १८ गते उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
उम्मेदवारी खारेज भएपछि निर्वाचन आयोगले घण्टी चुनाव चिह्नमा स्वस्तिक छाप लागेका मतपत्रको छुट्टै लगत राख्दै गणना गर्न निर्देशन दिएको छ । ती मतपत्रबाहेकका मतपत्रको गणना गरी निर्वाचन परिणाम प्रकाशन गर्न पनि आयोगले निर्देशन दिएको जनाएको छ ।
उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा साहले रिट निवेदन दर्ता गरेपछि धनुषा क्षेत्र नम्बर १ को अन्तिम परिणाम कस्तो आउने भन्ने विषयमा अझै अन्योल रहेको छ ।









प्रतिक्रिया