काठमाडौं, १८ फागुन । जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत तथा संसद् भवन लगायतका संवेदनशील सरकारी संरचनामा आगजनी र तोडफोडमा संलग्न भएको आरोप लागेका व्यक्तिहरू नै अहिले उम्मेदवार बनेर मतदाताको घरदैलोमा पुग्नुभएको छ। उहाँहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको हो।
आन्दोलनका क्रममा प्रदर्शनकारीलाई पानी वितरण गर्न सक्रिय रहनुभएका सुदन गुरुङ हाल गोरखा–१ बाट उम्मेदवार रहनुभएको छ। उहाँले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर पानी वितरण गर्नुभएको बताइएको छ। जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गरेर वर्तमान अवस्थासम्म पुर्याउनुभएको आरोपसमेत उहाँमाथि लागेको छ।
त्यसैगरी मोरङ–२ बाट उम्मेदवार रहनुभएका कृष्णकुमार कार्कीले भदौ २४ गते संसद् भवनमा आगजनी भइरहेको दृश्य आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो। मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की वैदेशिक रोजगारीबाट नेपाल फर्किनुभएपछि आन्दोलनमा सहभागी हुनुभएको बताइन्छ। उहाँले संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको दृश्य टिकटक तथा फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो।
उक्त घटनाबारे स्पष्टीकरण दिँदै उहाँले कुर्सी मात्र आफूले जलाउनुभएको र भवनमा आगो लगाउने कार्य घुसपैठियाबाट भएको दाबी गर्नुभएको छ। साथै विभिन्न राजनीतिक दलका नेताहरूका घरमा भएको तोडफोड तथा आगजनीमा आफ्नो संलग्नता रहेको स्वीकार गर्नुभएको विवरणसमेत सार्वजनिक भएको छ।
मोरङ–३ का उम्मेदवार गणेश कार्कीले पनि संसद् भवनमा आगजनी भएको घटनापछि सामाजिक सञ्जालमा खुसी व्यक्त गर्नुभएको बताइएको छ। मत माग्न जाँदा मतदाताले उहाँलाई उक्त घटनाबारे प्रश्नसमेत उठाएको जनाइएको छ। उहाँ पार्टी स्थापनाकालदेखिका नेता हुनुहुन्छ।
जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगजनीमा संलग्न रहेको आरोप लागेका प्रकाश रजौरियालाई पनि सोही पार्टीले कपिलवस्तु–३ बाट उम्मेदवार बनाएको छ। उहाँले ‘हाम्रो मिसन पूरा भयो’ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा राख्नुभएको थियो, जसलाई अनुसन्धान प्रारम्भ भएपछि हटाइएको बताइएको छ।
रूपन्देही–२ बाट उम्मेदवार रहनुभएका युवा अधिवक्ता सुलभ खरेल पनि सर्वोच्च अदालतमा आगलागी भएपछि सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकामध्ये एक हुनुहुन्छ। संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्यायाधीशले सामाजिक सञ्जालमा लेखिएको विषयमा स्पष्टीकरण माग्नुभएपछि उहाँ असहज हुनुभएको थियो।
यसैबीच, सिंहदरबारमा आगजनीसम्बन्धी अभिव्यक्ति दिनुभएका महेन्द्र गौतमविरुद्ध मुद्दा नचलाउने निर्णयलाई पाटन उच्च अदालत ले बदर गरिदिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रमाण अपर्याप्त भएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। तर उच्च अदालतले उक्त निर्णय उल्टाउँदै मुद्दा चलाउन निर्देशन दिएको छ।
उपन्यायाधिवक्ता बिन्दु धामी रावलका अनुसार निर्णय कार्यान्वयनका लागि फाइल जिल्लामा पठाइसकिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा गौतमले सिंहदरबार परिसरमा आगजनी गरेको दाबी गर्नुभएको थियो।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत तथा संसद् भवनलगायत सरकारी संरचनामा आगजनी भएको थियो। घटनामा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीले अनुसन्धान र अभियोजन प्रक्रिया अगाडि बढाइरहेको छ। यद्यपि केही प्रकरणमा सरकारी वकिल कार्यालयमार्फत अभियोजन नगर्न दबाब परेको आरोपसमेत सार्वजनिक भएको छ।









प्रतिक्रिया