ओलीले भन्नुभयो– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

काठमाडौं, १७ फागुन। पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीले मध्यपूर्वमा बढ्दो युद्ध तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले मध्यपूर्वका देशहरूमाथि बर्सिएका मिसाइलका दृश्यले आफूलाई रातभर निद्रा नलागेको बताउनुभएको हो।

अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि इरानले प्रत्याक्रमणस्वरूप अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसको प्रभाव कतार, बहराइन, युएई, कुवेतलगायतका क्षेत्रमा समेत देखिएको छ, जसका कारण त्यहाँ त्रासको वातावरण सिर्जना भएको बताइएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ, “मध्यपूर्वी देशहरूमाथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आज निद्रा परेको छैन। ती देशहरूमा लाखौं नेपाली अप्ठ्यारो र कोलाहलमा हुनुहुन्छ। उहाँहरूका परिवार यहाँ पलपल छट्पटिएर बस्नुपरेको छ।”

उहाँले थप्नुभएको छ, “आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु। यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ।” उहाँले विवेक, धैर्य र साहसको कामना पनि गर्नुभएको छ।

मध्यपूर्वका मुलुकहरू भूराजनीतिक चेपटामा परेको उल्लेख गर्दै उहाँले ती देशहरू पनि युद्ध नचाहेको तर शक्तिको स्वार्थले परिस्थिति जटिल बनेको टिप्पणी गर्नुभएको छ।

साथै, उहाँले युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आग्रह गर्नुभएको छ। त्यहाँ रहेका नेपाली दूतावास तथा नेपाल सरकारलाई नागरिक सुरक्षामा अविलम्ब परिचालित हुन पनि अनुरोध गर्नुभएको छ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार  ०८ : ४७  बजे